© २०२३
काठमाडौ । काठमाडौं महानगरपालिका प्रशासनिक दण्ड-जरिवानामा आक्रामक दृष्टिकोण अपनाउँदै कडा कारबाही गरिरहेको छ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ९० लाख ६७ हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ । महानगरले यस वर्ष २० वटा नियम उल्लङ्घनमा कडा दण्ड व्यवस्था गरेको छ।
विगत केही महिनामा, महानगरले विभिन्न स्थानहरूमा स्वच्छता र अनुशासन कायम गर्न महत्वपूर्ण कारबाहीहरू गरेको छ। तीमध्ये, हिजो मात्रै दरबारमार्गमा फोहोर फालेकाे भन्दै नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै कलंकीस्थित बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनलाई अस्वस्थ्यकर अचार पठाएकोमा २ लाख रुपैयाँ जरिवाना गरिएको थियो। त्यस्तै, नारायणी चमेना गृहलाई महानगर भवनमा स्वच्छता मापदण्ड उल्लङ्घन गरेकोमा २ लाख रुपैयाँ जरिवाना गरिएको छ।
अन्य कारबाहीहरूमा, किम्ची रेस्टुरेन्ट (अनामनगर) लाई खानेपानीमा किरा देखिएपछि २ लाख, तारकेश्वरको ‘अक्वा त्रिदेव’ ब्रान्डलाई कोलिफर्म भेटिएपछि २ लाख, र सप्तऋषि आयल एन्ड कस्मेटिक इन्डस्ट्रीलाई कच्चापदार्थ र एसओपी अभिलेख अभावमा २ लाख रुपैयाँ जरिवाना गरिएको थियो। यसै गरी, बुद्धमाई अस्पताललाई फोहोर व्यवस्थापनमा लापरबाही गरेकोमा १ लाख, र होटल मेक्योरलाई सडकमा फोहोर फालेको आरोपमा ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
महानगरले यो अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाउँदै आगामी दिनमा पनि नियम उल्लङ्घन गर्नेहरूमाथि कडा कारबाही महानगरले जनाएको छ । यस अभियानले काठमाडौंमा सामाजिक अनुशासन र सफा वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने महानगरको विश्वास छ।