© २०२३
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पुनर्गठनको ११औं वार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा भव्य जनसभा गर्दैछ।
सभाअघि नेकपाले सुनधाराबाट र्यालीको आयोजना गरेको छ, जसले रत्नपार्क, बागबजार हुँदै भृकुटीमण्डपमा पुगेर जनसभामा रूपान्तरण हुनेछ। पार्टीका नेता कार्यकर्ताको उल्लेख्य सहभागितामा भइरहेको यस र्यालीले भृकुटीमण्डपलाई उल्लासमय बनाएको छ।
सभालाई नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विशेष रूपमा सम्बोधन गर्ने जनाइएको छ। सभामा पार्टीको यात्रा, हालका राजनीतिक चुनौतीहरू, र आगामी कार्यदिशाबारे चर्चा हुने अपेक्षा गरिएको छ।
पुनर्गठनको ११ वर्षको यात्रामा पार्टीले सामना गरेका आरोह–अवरोहका कथा र राजनीतिक स्थिरताको खोजीमा अघि सारेका योजनाहरू प्रस्तुत गर्दै विप्लवले आगामी रणनीति सार्वजनिक गर्ने सम्भावना छ।
नेकपाको यो कार्यक्रमलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।