© २०२३
काठमाडौ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ अनुसार धरहरा चढ्न लाग्ने शुल्कको व्यवस्था गरिएको छ। स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकलाई पाँच सय रुपैयाँ, र अन्य विदेशी नागरिकलाई एक हजार रुपैयाँ शुल्क तोकिएको छ।
सहरी विकास मन्त्रालयले सो प्रस्ताव गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा पेस गरेको थियो, जसले मंसिर ९ गतेदेखि शुल्क लागू गर्ने निर्णय गरेको हो।
स्वदेशी नागरिकमध्ये विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिले धरहरा चढ्दा ५० प्रतिशत छुट पाउनेछन्। साथै, धरहरा परिसरमा पार्किङ शुल्क चार पांग्रे सवारीका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पांग्रे सवारीका लागि १० रुपैयाँ तोकिएको छ।
धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन राख्न, व्यावसायिक भिडियो छायांकन र फोटोग्राफीका लागि पनि शुल्क निर्धारण गरिएको छ। विज्ञापनका लागि प्रतिघण्टा पाँच हजार, भिडियो छायांकनका लागि प्रतिघण्टा पाँच हजार, र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ शुल्क लाग्नेछ।