© २०२३
४ मंसिर काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी निर्वाचनमा माओवादी केन्द्र आफ्नो वास्तविक राजनीतिक हैसियतमा सीमित हुने दाबी गरेका छन्। उनका अनुसार, विगतमा कांग्रेस र एमालेले माओवादीसँग चुनावी गठबन्धन गर्दा माओवादीले दुवै दललाई प्रयोग गरेको देखिएको छ।
महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बाट आजित भएर कांग्रेस र एमाले अहिले संसद्को दुई प्रमुख दलका रूपमा सहकार्य गरिरहेको स्पष्ट पारे।
अन्तरक्रिया कार्यक्रमको संबोधन
मंगलबार दैलेखको दुल्लुमा नेपाली कांग्रेस दुल्लु नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा. महतले माओवादीको रणनीतिप्रति कटाक्ष गरे। उनले भने,
“कहिले एमालेसँग मिलेर प्रचण्ड प्रधानमन्त्री भए, कहिले कांग्रेससँग मिलेर। त्यसबाट आजित भएर अहिले हामी मिलेका हौं।”
उनका अनुसार, वर्तमान सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहे पनि आगामी निर्वाचनपछि नेपाली कांग्रेस सभापतिको नेतृत्वमा नयाँ सरकार गठन हुने विश्वास रहेको छ।
महतले कांग्रेस र एमालेबीचको सहकार्यलाई बाध्यकारी परिस्थितिको परिणाम भएको बताए। उनले विचार नमिल्ने राजनीतिक दलसँग गठबन्धन गर्नु परे पनि आगामी दिनमा कांग्रेसले आफ्नो नीति र उद्देश्यलाई प्राथमिकतामा राख्ने दाबी गरे।
सम्बोधनले नेपाली राजनीति र आगामी चुनावी परिदृश्यबारे नयाँ बहस सिर्जना गरेको छ।