© २०२३
काठमाडौं, १२ वैशाख । के तपाईँ सामुदायिक विद्यालयको शिक्षक वा कर्मचारी भएर पनि राजनीतिक दलको नेता कार्यकर्ता बन्नुभएको छ । छ भने तत्काल राजीनामा दिनुहोस् । होइन भने तपाईँको जागिर चट् हुन्छ ।
राजनीतिक दलको कार्यकर्ता बनेका शिक्षकलाई पदबाट तत्काल हटाउन शिक्षा मन्त्रालयले परिपत्र जारी गरेको छ । शिक्षा मन्त्रालयले ७ वैशाखमा जारी गरेको परिपत्रमा राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको शिक्षक या कर्मचारीलाई कारबाही गर्न भन्दै परिपत्र जारी गरेको हो ।
देशभर सामुदायिक शैक्षिक संस्थाका शिक्षक तथा कर्मचारी राजनीतिक दलको महत्वपूर्ण पदमा समेत रहेको उजूरी बढेपछि मन्त्रालयले एक्सन लिएको हो ।
शिक्षामन्त्री सुमना श्रेष्ठले ४ वैशाखमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको जस्ता विषय उल्लेख गरी मन्त्रालयमा प्राप्त निवेदनहरुका सम्बन्धमा ऐन अनुसार र अदालतको परमादेश आदेश समेतको आधारमा कारबाही गर्न निर्णय गरेकी थिइन् । यसकै आधारमा मन्त्रालयले पछिल्लो परिपत्र जारी गरेको हो ।
देशका अधिकांश दलमा आवद्ध भई शिक्षक तथा कर्मचारीले जिम्मेवारी पाएको काममा भन्दा राजनीतिक गतिविधिमा सक्रियता देखाएको विषय उठेको थियो । यस विषयमा प्राज्ञिक विद्यार्थी परिषद्ले तथ्यांक र तथ्य समेत संकलन गरी देशभर उजूरी अभियान चलाएको थियो ।