© २०२३
२ मंसिर, काठमाडौं । गृहमन्त्री रमेश लेखक संग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादले सिंहदरबारस्थित गृह मन्त्रालयमा भेट गरेका छन । भेटमा नेपाल–भारत सीमा सुरक्षाका विभिन्न विषयमा छलफल भएको बुझिएको छ। गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध ओसारपसार, मानव बेचबिखन नियन्त्रण, र अन्य आपराधिक गतिविधि रोक्न सहकार्य आवश्यक रहेकोमा जोड दिए।
लेखकले दुवै देशका नागरिकलाई कष्ट नहुने गरी सीमामा मर्यादित व्यवहार र सुरक्षा व्यवस्था सुनिश्चित गर्न आग्रह गरे। उनले सीमामा एसएसबीको प्रभावकारी भूमिका नेपाल–भारत सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
भेटमा गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उच्च अधिकारीहरूको पनि उपस्थिति थियो। एसएसबी प्रमुख प्रसादको नेतृत्वमा आएको उच्चस्तरीय टोली वार्षिक समन्वय बैठकमा भाग लिन नेपाल आएको हो, जुन आज सम्पन्न हुने अपेक्षा गरिएको छ।