© २०२३
२८ कार्तिक, काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँद्वारा लगाइएको घुसको आरोपको खण्डन गर्दै कानुनी लडाईँ लड्ने दृढता व्यक्त गरेका छन्। मन्त्री पाण्डेले आफ्नो इमान र निष्ठामाथि भएको प्रहारलाई अस्वीकार गर्दै आफूले कहिल्यै भ्रष्ट आचरणलाई ठाउँ नदिएको बताए।
मन्त्री पाण्डेले भने, मेरो राजनीतिक पुँजी नै इमान र निष्ठामा आधारित छ। केही व्यक्तिहरू पर्यटन क्षेत्रबाट अनुचित लाभ लिन चाहन्छन् र मलाई बदनाम गर्ने प्रयासमा छन्। तर म आफ्नो सत्प्रयासलाई अस्थिर हुन दिने छैन । उनले आफूले मन्त्री बनेयता स्वच्छता र पारदर्शिताको उच्च मापदण्ड अपनाएको र कुनै पनि अनियमित कामलाई अघि बढ्न नदिएको र भावी दिनमा पनि यस्तो हुन नदिने बताएका छन्।
कांग्रेसकै सांसद बजगाईँले क्यासिनो खोल्ने अनुमति दिँदा करोडौं घुस लिएको आरोप लगाएपछि मन्त्री पाण्डेले यी आरोपहरूलाई निराधार भन्दै, “यदि मेरो विरुद्ध लगाइएका आरोप प्रमाणित भए, म मन्त्री मात्र होइन, कांग्रेसको सहमहामन्त्री र सांसदको पदबाट पनि राजीनामा दिनेछु र राजनीति नै छोड्ने बताएका छन्।
मन्त्री पाण्डेले आफूले सधैं सुशासन र भ्रष्टाचारविरुद्धको लडाईँमा प्रतिबद्ध भएको बताउँदै भने “म निष्ठा र इमानका साथ राजनीति गरिरहेको छु, र मन्त्रालयबाट बेदाग बाहिर निस्कने मेरो संकल्प छ ।