© २०२३
२७ कार्तिक, काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले नेता तथा कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। पूर्वमन्त्री अधिकारीलाई दोस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो।
गत कार्तिक २५ गते विराटनगरबाट पक्राउ परेका अधिकारीलाई जहाजमार्फत काठमाडौं ल्याइ अदालतमा उपस्थित गराइएको थियो। प्रारम्भिक रूपमा दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएकोमा सो अवधि समाप्त भएसँगै अदालतमा पुनः उपस्थित गराइएको थियो। थप १० दिनको अनुमति माग गरिए पनि अदालतले ७ दिनको म्यादमात्र दिएको हो।
यस प्रकरणको पृष्ठभूमिमा, मन्त्री अधिकारीले जापानमा आयोजित एक कार्यक्रममा मन्त्रालयसँग असम्बन्धित व्यक्तिहरूलाई लिएर गएको खुल्न आएको थियो। जापानको अध्यागमन विभागले उनलाई अन्य तीन जनासहित डिपोर्ट गरेपछि यो घटना सार्वजनिक भएको थियो। अनुसन्धानको क्रममा पक्राउ परेका व्यक्तिहरूले जनही १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको बयान दिएका छन्।