© २०२३
२७ कार्तिक, काठमाडौं। पछिल्ला दिनहरुमा सवारी दुर्घटनाका घटनामा वृद्धि हुँदै गएपछि गृहमन्त्री रमेश लेखकले सडक सुरक्षा कायम गर्न सक्रिय पहल सुरु गरेका छन्। उनले नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई मुलुकभरका प्रहरी युनिटलाई सवारी दुर्घटना न्यूनीकरणमा सक्रिय बनाउन निर्देशन दिएका छन्।
गृहमन्त्री लेखकले विशेषत: यात्रु वाहक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नराख्न र मालवाहक सवारी साधनमा यात्रु नबोक्न कडा निर्देशन दिएका हुन्। ‘सडक सुरक्षा कायम प्रहरी प्रमुखमार्फत मुलुकभरका प्रहरी युनिटलाई परिचालन गर्न निर्देश गरेको छु,’ गृहमन्त्री लेखकले भने। उनले सवारी दुर्घटनाको समस्यामा कमी ल्याउन यातायात व्यवसायी, यातायात मजदुर, र सम्बन्धित सरोकारवालाहरुले पनि आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताए।
सडक सुरक्षाको सुनिश्चितताका लागि गृहमन्त्रीले प्रहरीको सक्रियतासँगै विभिन्न निकायहरुको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए।