© २०२३
२७ कार्तिक,काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही पुर्याइएको छ। सहकारीको बचत अपचलन आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछाने २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा थिए। उनलाई आज प्रहरीले हवाईजहाजमार्फत रुपन्देही लगिएको हो।
पछिल्लो पटक आइतबार मात्र कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएपछि उनलाई रुपन्देही लगिएको हो। पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिनामा समेत संलग्न रहेको आरोप छ।
रुपन्देही जिल्ला अदालतले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपियाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोपमा अनुसन्धानका लागि लामिछानेसहित १२ जनालाई पक्राउ गर्न कात्तिक ८ गते अनुमति दिएको थियो। संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनले बुटवलको सुप्रिम सहकारीबाट दुई करोड रुपियाँ लामिछानेकै नाममा र अन्य १४ करोड २९ लाख विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको जनाएको छ।