© २०२३
३० असोज, काठमाडौँ। । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैका बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीरता व्यक्त गर्दै सरकारको प्राथमिकता सुरक्षित एकीकृत बस्तीको योजना रहेको बताएका छन्। उनले यस योजनाअन्तर्गत तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका कार्यहरू अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा खोटाङ जिल्लाका सर्वदलीय प्रतिनिधिमण्डलबाट प्राप्त ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत, अस्थायी आवास, तथा पुल निर्माणसम्बन्धी निर्णय गरिने जानकारी दिए।
प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण विभिन्न सडकहरू अवरुद्ध भए तापनि अपेक्षाभन्दा छिटो गतिमा मर्मत कार्य पूरा गरी अस्थायी रूपमा सडक सञ्चालनमा ल्याइएको बताए। सीमित बजेटको अवस्थालाई ध्यानमा राख्दै, उनले सकभर मागेर भन्दा आफ्नै स्रोत र साधनबाट पुनःनिर्माण र व्यवस्थापनका कार्य गर्नुपर्नेमा जोड दिए। उनले फलाम खानीको सम्भावनाबारे पनि चर्चा गर्दै सञ्चालनमा आएपछि बेलिब्रिजलगायत फलामका कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने उल्लेख गरे।
प्रतिनिधिमण्डलले खोटाङलाई तराई हुँदै प्रदेश राजधानी जोड्ने सुनकोशी नदीको फोक्सिङटार मोटरेबल पुल बाढीले बगाएको र यसले खोटाङ जिल्ला प्राकृतिक नाकाबन्दीमा परेको जानकारी गराएको थियो। टोलीमा प्रतिनिधिसभा सदस्य रामकुमार राई, सरस्वती बजिमय, पूर्वमन्त्री उषाकला राई, प्रदेश सांसदहरू, र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलगायत सहभागी थिए।