© २०२३
काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनर्वितरण सुरु गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट औपचारिक रूपमा पानी वितरणको शुभारम्भ गर्दै उपत्यकाका बासिन्दालाई मेलम्चीको पानी पुनः उपलब्ध गराएका हुन्।
यसअघि मेलम्चीका स्थानीय समितिहरूले विभिन्न मागहरू राख्दै सङ्घर्ष समिति गठन गरेका थिए। ती मागहरूको समाधानका लागि हिजो खानेपानीमन्त्री यादव र स्थानीय सरोकारवालाबीच वार्ता भएको थियो। वार्तामा मेलम्चीको पानी काठमाडौं पठाउने सहमति जुटेपछि पुनर्वितरण प्रक्रिया सुरु भएको हो।
मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची क्षेत्रमै पुगेर स्थानीय सङ्घर्ष समिति र सरोकारपक्षसँग छलफल गरेका थिए। वार्तामा दसैँ अगाडि काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले समस्या समाधानका लागि सरकार संवेदनशील रहेको बताए।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेका अनुसार, सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलेपछि काठमाडौं उपत्यकाभरिका विभिन्न वितरण शाखामार्फत खानेपानीको आपूर्ति हुने व्यवस्था गरिएको छ।