© २०२३
२२ असोज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य संगठनलाई साझा स्वास्थ्य संकटसँग जुध्नका लागि थप स्रोत जुटाउन आग्रह गरेका छन्। दक्षिण एसिया जनसांख्यिक हिसाबले उच्च स्वास्थ्य जोखिम क्षेत्र भएको र स्रोतको अभाव प्रमुख चुनौती रहेको मन्त्री पौडेलले औंल्याए।
भारतको नयाँदिल्लीमा आयोजना भएको दक्षिण एसियाली क्षेत्रीय स्वास्थ्य मन्त्रीहरुको बैठकमा सम्बोधन गर्दै उनले भने, “दक्षिण एसिया जनसांख्यिक हिसाबले जोखिममा रहेको क्षेत्र हो, जहाँ स्रोत अभावमा स्वास्थ्य समस्यासँग जुध्न गाह्रो भएको छ।”
नेपालको स्वास्थ्य समस्या पनि दक्षिण एसियाको साझा समस्या भएकोले स्रोतको वृद्धि गर्न प्रतिबद्ध रहेको मन्त्री पौडेलले प्रष्ट पारे। उनले भने, “हामी आफ्ना स्वास्थ्य संकट समाधान गर्न आन्तरिक स्रोत वृद्धि गर्न सक्रिय छौं।”
बैठकमा दक्षिणपूर्वी एसियाली स्वास्थ्य मन्त्रीहरू तथा संगठनका उच्च अधिकारीहरू सहभागी थिए। मन्त्री पौडेलले संगठनका दक्षिणपूर्वी एसियाली निर्देशक सइमा वाजेदसँग भेटवार्ता गर्दै नेपालमा स्वास्थ्य बीमा सुधार गर्दै नागरिकको आधारभूत स्वास्थ्य उपचारको हक बलियो बनाउन गरिएको प्रयासबारे छलफल गरे। उनले संगठनसँग नीतिगत सहयोग र समर्थनको अपेक्षा पनि व्यक्त गरे।
मन्त्री पौडेलले नेपालका कतिपय स्वास्थ्य प्राथमिकता साझा भएको उल्लेख गर्दै, स्वास्थ्य समस्याको समाधानमा संगठनसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।