© २०२३
१९ असोज हेटौडा । बागमती प्रदेश सरकारले हालै आएको बाढी र पहिरोले प्रभावित ४५ स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले यस आपतकालीन राहतलाई यथाशीघ्र उपलब्ध गराउने निर्णय गरेको हो।
मुख्यमन्त्री लामाले पब्लिक सवाललाई जानकारी दिएअनुसार, यो राहत रकम तीन समूहमा बाँडेर वितरण गरिनेछ। बाढी र पहिरोबाट अत्यन्तै प्रभावित सात स्थानीय तहलाई प्रति पालिका २० लाख रुपैयाँ, मध्यम प्रभावित १२ पालिकालाई १५ लाख रुपैयाँ, र बाँकी २६ पालिकालाई १० लाखका दरले सहायता वितरण गरिनेछ।
राहत वितरणलाई प्रभावकारी बनाउन प्रदेश सरकारले आफ्नो विपद् व्यवस्थापन कोषमा थप १० करोड ५० लाख रुपैयाँ निकासा गर्ने निर्णय पनि गरेको छ। यसबाट विपद् व्यवस्थापन कोषलाई सशक्त बनाइने र राहत कार्यलाई तिव्रता दिने योजना रहेको छ।
विशेष रूपमा काभ्रेको रोशी, बेथानचोक, तेमाल गाउँपालिका, सिन्धुलीको सुनकोशी गाउँपालिका, ललितपुरको महांकाल गाउँपालिका, र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका जस्ता बाढी र पहिरोबाट बढी जोखिममा परेका पालिकाहरूलाई प्राथमिकतामा राखेर प्रति पालिका २० लाखका दरले १ करोड ४० लाख रुपैयाँ निकासा गरिने भएको छ।
त्यस्तै, काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक, भक्तपुर, मकवानपुर, धादिङ र रामेछाप जिल्लाका केही पालिकाहरूमा १५ लाखका दरले १ करोड ८० लाख रुपैयाँ प्रदान गरिनेछ। अरू २६ पालिकाहरूलाई १०–१० लाखका दरले २ करोड ६० लाख रुपैयाँ वितरण गरिने निर्णय भएको छ।
मुख्यमन्त्री लामाका अनुसार यो राहतको उद्देश्य मात्र आर्थिक सहायता वितरणमा सीमित छैन, यसले प्रभावित नागरिकहरूको पुनर्स्थापना, जीवनयापनमा सहयोग, र विपद् व्यवस्थापनमा दीर्घकालीन सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ। प्रदेश सरकारले यस कार्यलाई तीव्रता दिँदै प्रभावित क्षेत्रका बासिन्दाहरूको पीडामा केही राहत पुर्याउने योजना बनाएको छ।