© २०२३
संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री बद्री पाण्डेले विपद र चाडसँगै हवाई चापमा वृद्धि भएको बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भने, “विपद र महान चाडहरूसँगै आएकाले हवाई चाप बढेको छ। यसलाई कसरी न्यायोचित बनाउने भन्ने कुरामा हामी निरन्तर काम गरिरहेका छौं।”
मन्त्री पाण्डेले यात्रुको सहजता सुनिश्चित गर्न मन्त्रालयले निरन्तर प्रयास गरिरहेको पनि उल्लेख गरे। उनले संस्कृति, पर्यटन र हवाई नीतिहरू परिमार्जनको क्रममा रहेको जानकारी दिँदै ऐन र नीतिहरूको सुदृढीकरणमा ध्यान केन्द्रित गरिएको बताए।
साथै, उनले ट्रेड युनियन र अन्य संघ-संस्थाहरूलाई सत्य र तथ्यलाई मात्र प्रस्तुत गर्न जोड दिए। मन्त्री पाण्डेले नेपालको हवाई आकाश सुरक्षित रहेको सन्देश पनि नागरिक र पर्यटकहरूलाई प्रदान गर्न आग्रह गरेका छन्।