© २०२३
बडा दसैँ सुरु, आज घटस्थापनामा घरघरमा जमरा राखिदै
काठमाडौं, असोज १७ । नेपालभर आजदेखि बडादसैँको उल्लासमय पर्वको शुभारम्भ भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापनाको विधिबाट सुरु हुने दसैँ पर्वलाई देशभर विभिन्न धार्मिक अनुष्ठानसहित धुमधामले मनाउने परम्परा छ। आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासँगै देवी दुर्गाको आह्वान गरी जमरा राखिएको छ।
सूर्योदयकालमा प्रतिपदा परेकाले घटस्थापनाको शुभसाइत बिहान ९:१६ बजे समितिले तोकेको थियो। वैदिक विधिअनुसार बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपेको पूजा स्थलमा जौँ रोपेर जमरा राख्ने काम आज सम्पन्न भएको छ। दुर्गा देवीको प्रिय वस्तु मानिने जमरा विजयादशमीको दिन टीका र प्रसादका रूपमा ग्रहण गरिन्छ।
धर्मशास्त्रविद्हरूका अनुसार दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी, र महासरस्वतीको नवदुर्गा रूपमा नौ दिनसम्म पूजा आराधना गरिने छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी समृद्धिको प्रतीक, र महासरस्वती बुद्धिको प्रतीक मानिन्छन्।
यस वर्षको विजयादशमीको टीका लगाउने साइत असोज २६ गते ११:३६ बजे रहेको छ।