© २०२३
१६ असोज काठमाडौँ । असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले नेपाली जनजीवनमा ठुलो क्षति पुर्याएको छ। किसानहरूको पाक्न लागेको धान बाली नष्ट भयो भने राजमार्गहरू अवरुद्ध भएका छन्। जल तथा मौसम विज्ञान विभागको चेतावनीलाई बेवास्ता गर्दा कैयौँले अकालमा ज्यान गुमाएका छन्। प्रारम्भिक विवरण अनुसार बाढीपहिरोबाट रु १७ अर्बभन्दा बढीको क्षति भएको छ।
सबैभन्दा बढी प्रभावित भएका जिल्लाहरूमा काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर रहेका छन्। मकवानपुरको इन्द्रसरोवरस्थित वत्सलादेवी माविमा सञ्चालित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीमा अध्ययनरत छ विद्यार्थीले ज्यान गुमाएका छन्।
सडक पूर्वाधारमा करिब रु २ अर्ब ५२ करोड बराबरको क्षति भएको छ भने पाँच पक्की पुल र दुई बेलिब्रिज पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। कुल ५८ हजार चार सय ७६ हेक्टरमा रहेको धानबाली नष्ट भएको छ, जसको मूल्य रु तीन अर्ब ५० करोड आँकलन गरिएको छ।
सरकारले उद्धार र पुनःस्थापनाको कार्यलाई तीव्रता दिएको छ। ३० हजारभन्दा बढी सुरक्षाकर्मीलाई परिचालन गरिएको छ भने कृत्रिम अभाव, मूल्यबृद्धि र कालोबजारी नियन्त्रण गर्न कडा नीति अवलम्बन गर्ने तयारी गरिएको छ।
पुनःनिर्माणको कामलाई गति दिन सरकारको तयारी छ, तर सडकहरू सञ्चालनमा ल्याउने, क्षतिग्रस्त पुलहरू मर्मत गर्ने कार्य अझै चुनौतीपूर्ण देखिएको छ।