© २०२३
१५ असोज काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा संघीय सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको कडा आलोचना गरेका छन्। अमेरिका भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री ओलीले बाढीपहिरो सम्बन्धमा दिएका टिप्पणीहरूलाई असान्दर्भिक र गैरजिम्मेवार ठहर गर्दै भण्डारीले असन्तोष व्यक्त गरेका हुन्।
कांग्रेस संसदीय दलको बैठकमा बोल्दै भण्डारीले भने, “प्रधानमन्त्रीको अभिव्यक्ति जथाभाबी र गैरजिम्मेवार भयो। यस्ता संकटपूर्ण समयमा यस्तो अभिव्यक्तिले जनतामा नकारात्मक सन्देश जान्छ, जसको जिम्मेवारी सरकारले लिनुपर्छ।”
त्यस्तै, बैठकमा सांसद राजन केसीले उद्धार कार्यमा सरकारको पूर्ण असफलता औंल्याउँदै भने, “सरकारले समयमा डोरी र डुंगाको प्रबन्ध नगर्दा बाढीपहिरो पीडितहरूको उद्धारमा ठूलो ढिलाइ भएको छ। यो सरकारको चरम लापरबाही हो।”
तर, गृहमन्त्री रमेश लेखकले सरकारको बचाउ गर्दै भने, “उद्धार कार्य उच्च जोखिममा भए पनि केही सफल भएको छ, जसले ठूलो जनधनको क्षति रोक्न मद्दत पुर्याएको छ।”
बैठकमा अन्य कांग्रेस नेताहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाउँदै सरकारको तयारी र उद्धार क्षमतामाथि आलोचना गरेका थिए।