© २०२३
असोज १५ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर उद्धार र राहतमा सहयोग गर्न सबैमा आह्वान गरेका छन्। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले जनताको पीडालाई सामूहिक दायित्वका रूपमा लिइ हालको विपद्मा सबैले सँगै सहयोग गर्नुपर्ने आवश्यकताको उल्लेख गरे।
“यो सरकारको मात्र होइन, सिङ्गो समाजको दुःखको विषय हो। हामी सबै विपद्का घटनाबाट दुःखी छौँ,” प्रधानमन्त्री ओलीले भने। उनले भनेका छन्, “संरचनागत त्रुटीका कारण क्षति भएका छन्। भविष्यमा सबल संरचना निर्माण गर्न आवश्यक छ जसले विपद्को सामना गर्न सक्नेछ।”
विपद्को चापमा सरकारको तयारी अपर्याप्त रहेको स्वीकार गर्दै उनले आगामी दिनमा सुधार गर्न प्रतिबद्धता जनाए। उनले राज्य र समाजसँग भएका स्रोत र साधनको सदुपयोग गर्नको लागि सन्देश पनि दिए।
धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति विषयमा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारका अनियमितताबारे स्पष्टता ल्याउनको लागि आग्रह गरेका छन्, र उनले आफूलाई कुनै नियुक्ति वा लाभको आवश्यकता नभएको कुरा प्रस्ट पारे।