© २०२३
१४ असोज काठमाडौँ।। राष्ट्रसंघीय महासभाबाट १० दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विपद्ले गराएको क्षतिबारे टिप्पणी गर्दै संवेदनशील परिस्थितिमा विरोध नगर्न आग्रह गरेका छन्।
त्रिभुवन विमानस्थलमा संवाददातासँग कुरा गर्दै उनले रेड अलर्ट जारी गरिएको भए पनि पहिरोको पूर्वानुमान गर्न नसकेको बताए। “काठमाडौंमा यति डुबान होला भन्ने कल्पना थिएन,” उनले भने।
प्रधानमन्त्री ओलीले विपद्को संवेदनशील बेलामा विरोध गरेर परिस्थितिलाई झन् बिगार्न खोजिएको भन्दै असन्तोष जनाए। “संवेदनशील बेलामा विरोधका लागि विरोध नगरौं। सरकार छ। यसले परिस्थिति सम्हाल्छ। गरिरहेको पनि छ,” उनले स्पष्ट पारे।
सञ्चारकर्मीसँगको कुराकानीपछि जारी गरिएको प्रेस वक्तव्यमा प्रधानमन्त्रीले विपद्का मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन्।