© २०२३
१३ असोज, इनरुवा (सुनसरी) – सप्तकोशी नदीमा ५६ वर्षयताकै सबैभन्दा उच्च पानीको बहाव मापन गरिएको छ। आज बिहान ३ः०० बजे कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।
यसअघि, १९६८ को अक्टोबर ५ मा कोशी ब्यारेजमा प्रति सेकेन्ड ७ लाख ८८ हजार दुई सय क्युसेकको पानीको बहाव मापन गरिएको थियो, जुन अहिलेसम्मकै उच्च हो। शनिबार राति १०ः२५ बजे मापन गरिएको पानीको बहाव भने ६ लाख २० हजार क्युसेक थियो।
कोशी ब्यारेजमा जलसतह खतरा तहभन्दा ११.२६ मिटर माथि पुगेको छ, जसले गर्दा बाढीको जोखिम बढ्दो क्रममा रहेको छ। सतर्कता अपनाउन अनुरोध गर्दै सबै ५६ ढोका खोलिएको छ। सप्तकोशी चतरा जलमापन केन्द्रले उदयपुर, सुनसरी, र सप्तरीका होचा भूभागमा बस्न निषेध गर्दै सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पानीको बहाव बढेकाले कोशी ब्यारेज भएर मानिस र सवारीसाधनको आवागमन अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गरिएको जानकारी दिएका छन्।