१३ असोज, काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आज दिउँसो १ः०० बजे सर्वदलीय बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने यस बैठकमा अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो, विपद् व्यवस्थापन, उद्धार कार्य, र पीडितका लागि राहत कार्यक्रमहरूबारे छलफल हुनेछ।
कार्यवाहक प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार, देशभर बाढी, पहिरो, र डुबानले जनजीवन अस्तव्यस्त बनेको, केही जिल्लामा मानवीय क्षति भएको र यातायातका साधनहरू अवरुद्ध भएका कारण यो बैठक अत्यावश्यक ठहरिएको छ।
यसअघि, प्रधानमन्त्री सिंहले गृहमन्त्री रमेश लेखक, सुरक्षा प्रमुखहरू, मुख्यसचिव, र अन्य सम्बद्ध सचिवहरूसँग विपद् व्यवस्थापनबारे जानकारी लिएका थिए। सरकारले सबै क्षेत्रका संघ-संस्थाहरूसँग समन्वय गरेर राहत तथा उद्धार कार्यमा जोड दिएको छ।
साथै, प्रधानमन्त्री सिंहले बाढी र पहिरोले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै नागरिकलाई संयमित रहन र पीडितहरूको सेवामा जुट्न आग्रह गरेका छन्। उनले मौसमविद्हरूको चेतावनीअनुसार आवश्यक नपरी घरबाट बाहिर नजान पनि सुझाव दिएका छन्।