१३ असोज, काठमाडौं – बाढी र पहिरोको विपत्तिको बीचमा व्यापारीहरूले तरकारीको मूल्य मनलाग्दी तोकेका छन्, जसका कारण उपभोक्ताहरू अत्यधिक मूल्य तिर्न बाध्य भएका छन्। काठमाडौंका केही खुद्रा व्यापारीले धनियाँलाई प्रतिकिलो ८ सय रुपैयाँसम्म बेचेको जनाइएको छ।
नयाँबानेश्वरका एक तरकारी व्यापारीका अनुसार, हिजो स्टकमा रहेको धनियाँ ३०० रुपैयाँ प्रतिकिलोमा बेचिए पनि आज भक्तपुरबाट ल्याएको ताजा धनियाँको मूल्य ५ सयदेखि ८ सय रुपैयाँसम्म पुगेको छ। अन्य तरकारीहरूमा पनि गोलभेँडा, हरियो खुर्सानी, र भिण्डीमा व्यापारीहरूले मनलाग्दी मूल्य तोक्दै बेचिरहेका छन्।
सडक अवरुद्ध भएर नयाँ तरकारी नआएका कारण उपत्यकामा पहिले नै रहेका तरकारीलाई अत्यधिक मूल्यमा बेचेको उपभोक्ताहरूले गुनासो गरेका छन्। कालिमाटीको थोक बजारमा गोलभेँडा, स्कुस, लौका जस्ता तरकारीहरूको मूल्य एकैदिनमा १४२ प्रतिशतदेखि २११ प्रतिशतसम्म बढेको देखिएको छ।