१२ असोज, काठमाडौं – दुई दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकमा आएको बाढी र पहिरोले ३ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार एक बालिकासहित ३ जनाको ज्यान गइसकेको छ। उद्धारमा जुटेको टोलीले अहिलेसम्म १० जनालाई सकुशल उद्धार गरेको छ, भने एक जना घाइते भएका छन्।
काभ्रेको बनेपा, बेथनचोक, तेमाल, र रोशी गाउँपालिकामा ठूलो क्षति पुगेको छ, विशेष गरी धानबाली बाढीले बगाएको छ। साथै, अरनिको र बीपी राजमार्ग अवरुद्ध भएका छन्।
रोशी खोलामा आएको बाढीले दुम्जाको कुशेश्वर मन्दिरस्थित गुरुकुलमा २८ विद्यार्थी र ५ शिक्षक गरी ३३ जना बीचमै फसेका छन्। शिक्षक नारायण घिमिरेका अनुसार मन्दिर तीनतिरबाट खोलाले घेरिएको छ, र उनीहरू ठूलो जोखिममा छन्।