© २०२३
१२ असोज, काठमाडौं – अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार, वर्षाले प्रसारण तथा वितरण प्रणालीमा क्षति पुर्याउँदा काठमाडौंको करिब आधा क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ।
प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले सामान्य अवस्थामा उपत्यकामा करिब ४०० मेगावाट विद्युत् आपूर्ति हुने गरेकोमा अहिले केवल २०० मेगावाट मात्र आपूर्ति भइरहेको बताए।
बानेश्वर, पाटन, भक्तपुर, लैनचौर, टेकु, नयाँ चाबहिल, र स्यूचाटार सबस्टेसनमार्फत विद्युत् आपूर्ति भएका विभिन्न स्थानहरूमा फिडर बन्द छन्। आपूर्ति पुनः सुरु गर्न टोली खटिए पनि जलमग्न स्थानहरूमा लाइन सञ्चालनमा कठिनाइ भएको छ।