© २०२३
मोरङ जिल्लामा लगातारको वर्षाका कारण आएको बाढी र डुबानले १०० भन्दा बढी परिवार विस्थापित भएका छन्। विराटनगर, कटहरी, रंगेली, धनपालथान, र जहदाका बस्तीहरू प्रभावित भएका छन्। प्रहरीले भने ९४ परिवार विस्थापित भएको विवरण दिएको छ। रंगेली नगरपालिका-२ लक्ष्मीपुरमा १६ परिवार र रंगेली नगरपालिका-९ मा डाँस खोलाको बाढीले २२ परिवारलाई विस्थापित बनाएको छ। यी प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा सारिएको छ। सिंघिया खोलाको बाढीले विराटनगर-२ का केही परिवार आफन्तको घरमा जानु परेको छ, भने कटहरी-१ बख्खु टोलका ४ परिवारलाई नारी विकास संघको भवनमा राखिएको छ। जहदा गाउँपालिका १ धुनी टोलका २५ घर पनि डुबानमा परेका छन् र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। त्यस्तै, धनपालथान गाउँपालिका-३ बेतौना टोलमा पनि २४ परिवार विस्थापित भएका छन्। विराटनगरको दक्षिणपश्चिम क्षेत्रमा पनि बाढीले बस्तीहरू डुबानमा परेको छ।