१२ असोज, इटहरी। भारतको बिहार राज्यको जल संशाधन विभागले अत्यधिक वर्षाका कारण कोशी नदीमा सात लाख क्युसेक प्रतिसेकेन्ड पानीको प्रवाह हुन सक्ने चेतावनी जारी गरेको छ। निरन्तर वर्षाले जलसतहमा वृद्धि हुने पूर्वानुमान गर्दै विभागले रेड अलर्ट जारी गरेको हो।
विभागको विज्ञप्तिमा आगामी शनिबार मध्याह्न १२ बजेसम्म वीरपुरस्थित कोशी ब्यारेजमा ६ लाख ८१ हजार क्युसेकको जलप्रवाह हुने सम्भावना रहेको उल्लेख गरिएको छ। कोशीका विशेषज्ञ इन्जिनियर राहुल यादुले जलसतह यस स्तरमा पुगेमा ठूलो क्षति निम्त्याउने सम्भावना रहेको बताएका छन्, जसले नेपाली भूभागमा पनि प्रत्यक्ष असर पार्न सक्छ।
विशेषगरी, चतरा पुलदेखि कोशी ब्यारेजसम्मको ५० किलोमिटर नदी बेसिनमा उच्च जोखिम रहेको छ। बिहारका स्थानीय प्रशासनलाई सतर्क रहन र तटबन्धनजिकका बासिन्दालाई सूचित गर्न निर्देशन दिइएको छ। साथै, बाढी प्रभावित क्षेत्रमा नियमित गस्तीको व्यवस्था मिलाइएको छ।
कोशी प्रोजेक्टसँग सम्बन्धित सबै कर्मचारीको बिदा रद्द गर्दै काममा फर्काइएको छ। शनिबार बिहान ५ बजेसम्म कोशी नदीमा ३ लाख १४ हजार क्युसेक पानी प्रवाह भएको जानकारी दिइएको छ। विभागले गण्डकी र महानन्दा नदीमा पनि आगामी ४८ घण्टाभित्र जलप्रवाह बढ्न सक्ने चेतावनी दिएको छ।