© २०२३
११ असोज, चितवन। निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेकाले आज राति नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी साधन चलाउन रोक लगाइने भएको छ।
जिल्ला सुरक्षा समितिको बैठकले रातिमा पनि भारी वर्षा हुने सम्भावना रहेको भन्दै मानवीय तथा भौतिक क्षति रोक्न सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइनेछ। यद्यपि, अत्यावश्यक सेवाका गाडीहरूलाई भने छुट दिइनेछ।
गाडीहरूलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोक्ने व्यवस्था मिलाइएको छ। शुक्रबारको दिनभर सडक खुला भए पनि सम्भावित जोखिमका कारण यो निर्णय गरिएको हो।
यसअघि, असार २८ गते राति यही सडकखण्डको सिमलतालमा पहिरोले बस बगाउँदा ६२ जनाको दुखद मृत्यु भएको थियो।