© २०२३
११ असोज, काठमाडौं। सरकारले उखु र दुग्ध किसानहरूको बक्यौता चुकाउन लगभग २ अर्ब रुपैयाँको निकासा गरेको छ। यो रकमसँगै उखु किसानहरूले दसैंअघि नै आफ्नो बक्यौता प्राप्त गर्नेछन्।
दुग्ध किसानहरूको रकम भुक्तानीका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले शुक्रबार मात्र ऋण स्वीकृत गरेको छ।
कृषि मन्त्रालयका अनुसार ८ जिल्लाका उखु किसानहरूलाई १ अर्ब ४५ करोड भन्दा बढी रकम पठाइसकिएको छ। कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा र सुनसरीका किसानहरूले यो रकम प्राप्त गर्नेछन्।
भदौ २६ मा गरिएको निर्णय अनुसार, महालेखा परीक्षकको कार्यालय र अर्थ मन्त्रालयले रकम उपलब्ध गराउन स्वीकृति दिएको थियो। मन्त्रालयको प्रस्तावअनुसार शुक्रबार अख्तियारी र वितरण प्रक्रिया सम्पन्न भएको हो।
त्यसैगरी, दुग्ध विकास संस्थान (डीडीसी) मार्फत दुग्ध किसानहरूको बक्यौता तिर्न ६० करोड रुपैयाँ ऋण दिने निर्णय भदौ २० मा मन्त्रिपरिषदबाट स्वीकृत भएको थियो। डीडीसी प्रमुख सूर्य पाण्डेले दुग्ध किसानहरूको बक्यौता चुकाउन सबै प्रक्रिया पूरा भएको जानकारी दिए।