© २०२३
११ असोज, काठमाडौं। यो साता पनि सेयर बजारमा गिरावटको निरन्तरता देखियो। गत साता २५७६ अंकमा बन्द भएको बजार यो साता ९० अंक अर्थात् ३.४९ प्रतिशत घटेर २४८६ अंकमा बन्द भएको छ।
साताको पहिलो दिन आइतबार ११.५८ अंकले बजार बढेको भए पनि सोमबार ५९ अंक र मंगलबार ५८.९३ अंकले घट्यो। बुधबार पुनः ४९.१८ अंक बढे पनि बिहीबार ३२.८१ अंकले घटेको छ। यस क्रममा बजार घट्दा कारोबार रकम पनि घटिरहेको छ।
आइतबार बजारमा ५ अर्ब ९ करोडको कारोबार भएको थियो भने सोमबार ५ अर्ब ६६ करोड, मंगलबार ५ अर्ब ६८ करोड, बुधबार ४ अर्ब ८१ करोड, र बिहीबार ४ अर्ब ८४ करोडको कारोबार भएको छ।
यो साता सबै सेक्टरका सूचक घटेका छन्। फाइनान्स क्षेत्र सबैभन्दा धेरै ८.५ प्रतिशतले घटेको छ, जबकि गत साता पनि यो क्षेत्र ११ प्रतिशत घटेको थियो। बजारमा कुल १५ फाइनान्स कम्पनी सूचीकृत छन्, जसमध्ये अधिकांशले यो वर्ष लगानीकर्तालाई लाभांश दिन नसक्ने अवस्थामा छन्। ‘लोक्याप’ प्रभावले धेरैको मूल्य उच्च बनेको छ, जसले गर्दा फाइनान्स कम्पनीहरुमा बिक्री चाप बढेको छ। यस साता लाभांश सिजन हुँदा पनि फाइनान्स कम्पनीहरुले लाभांश दिन नसकेपछि बजारको गिरावटले लगानीकर्ताहरुमा चासो पैदा गरेको छ।
त्यस्तै, हाइड्रोपावर सेक्टर ५ प्रतिशत र बैंकिङ सेक्टर १.६ प्रतिशतले घटेको छ।
यो साता रकमका आधारमा धेरै कारोबार भएका टप १० कम्पनीमा अपी पावर, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर, गुडविल फाइनान्स, र ङादी ग्रुप रहेका छन्।
त्यस्तै, कारोबार संख्याका आधारमा पनि अपी पावर, हिमालयन रिइन्स्योरेन्स, माथिल्लो तामाकोशी, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, निफ्रा, हिमाल दोलखा हाइड्रोपावर, नेपाल फाइनान्स, अरुणभ्याली हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, र एचआईडीसीएल अगाडि रहेका छन्।