११ असोज, काठमाडौं – काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ चार सय बेंशीमा लेदो मिसिएको पहिरोले वीपी राजमार्ग अवरुद्ध गरेको छ। लगातारको पानीका कारण माथिबाट आएको लेदोले बिहीबार बिहान ८ बजेदेखि राजमार्गमा आवागमन रोकिएको हो।
रोशी गाउँपालिका र प्रहरीको प्रयास जारी रहेको छ, तर निरन्तरको वर्षाले लेदो झर्ने क्रम नरोकिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिएका छन्। यसैबीच, माम्ती खोलामा भएको अवरोध हटाइएपछि त्यहाँ यातायात सुचारू भएको पालिकाले जनाएको छ।