© २०२३
११ असोज, म्याग्दी – राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत जोमसोमदेखि कागबेनीसम्मको १३ किलोमिटर सडकको कालोपत्र सम्पन्न भएको छ। यो सडक कालोपत्रको काम ११ मिटर चौडा गरेर आक्सपाल्ट प्रविधिमा गरिएको हो।
बेनि–जोमसोम–कोरला सडक आयोजनाको अन्तर्गत कागबेनी खण्डको कालोपत्र कार्यका लागि २८ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागार्इंले कालोपत्रको काम पूरा भएको जानकारी दिएका छन्।
कागबेनीदेखि कोरलातर्फको दुई किलोमिटर र एक्लेभट्टीदेखि कागबेनी जोड्ने वैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र गरिएको छ। यो करिडोर ११० किलोमिटर लामो छ, जसमा ८ खण्डमा विभाजन गरिएको छ। हालसम्म ७५ किलोमिटर सडकको विस्तार र ग्राभेलको काम पूरा भएको छ।
चराङ–छोसेर खण्डमा २५ किलोमिटर लामो सडकको ९२ प्रतिशत निर्माण सम्पन्न भएको छ। आयोजनाको प्रमुख ध्रुवकुमार झाले यस खण्डको स्तरोन्नति पूरा भएपछि जोमसोमदेखि कोरलासम्मको सडक गाभ्रेल हुने जानकारी दिएका छन्।