© २०२३
११ असोज, काठमाडौं – देशका केही नदीहरूमा आइतबारसम्म बाढीको जोखिम बढ्ने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै बाढीको जोखिमका कारण सतर्क रहन अपिल गरेको छ।
महाशाखाका अनुसार, मुख्यत: शुक्रबार र शनिबार केही नदीहरूमा बाढीको जोखिम उच्चदेखि अति उच्चसम्म हुने बताइएको छ। यसमा विशेष गरी नारायणी, कन्काई, कमला र वाग्मती नदीको जोखिम उच्च रहेको छ। शनिबार भने नारायणी, वाग्मती, पश्चिम राप्ती र बबइ नदीमा बाढीको अति उच्च जोखिम रहेको छ।
आइतबारसम्म यी नदीहरूमा पानीको वहाब कम हुँदै जाने महाशाखाले जनाएको छ। यसै क्रममा, देशका धेरै ठाउँमा आज लगातार झरी परेको छ। शनिबारदेखि पूर्वी भागतिर पानीको मात्रा कम हुने र पश्चिमतिर पानीको मात्रा बढ्दै जाने मौसम पूर्वानुमान गरिएको छ।