१० असोज, काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा नेपालमा १ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको विवरण अनुसार, यो रकम अघिल्लो वर्षको साउनको तुलनामा १८ प्रतिशतले बढी हो। अमेरिकी डलरमा यो विप्रेषण १ अर्ब २ करोड बराबर रहेको छ, जुन अघिल्लो वर्षको साउनमा ८७ करोड ९८ लाख डलर बराबरको रेमिट्यान्सको तुलनामा उल्लेखनीय वृद्धि हो।
यस महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नयाँ कामदारहरूको संख्या ३६ हजार ९२८ पुगेको छ, जबकि पुनः श्रम स्वीकृति लिने २२ हजार ६४७ जना रहेका छन्। यस अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या केही घटेको भए पनि पुनः श्रम स्वीकृति लिनेहरूको संख्या वृद्धि भएको देखिन्छ।