१० असोज, काठमाडौं – नेपालमा विदेशी मुद्रा सञ्चिति २१ खर्ब रुपैयाँसम्म पुगेको छ, जसले मुलुकको वस्तु तथा सेवा आयातलाई १३.५ महिनासम्म धान्न सक्ने अनुमान गरिएको छ।
नेपाल राष्ट्र बैंकको रिपोर्ट अनुसार, साउन २०८१ सम्म विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। यो रकम असार मसान्तसम्म २० खर्ब ४१ अर्ब रुपैयाँ थियो, जसमा एक महिनामा २.५ प्रतिशतले वृद्धि भएको हो।
अमेरिकी डलरमा हेर्दा, यो सञ्चिति १५ अर्ब ५८ करोड डलर पुगेको छ, जुन असार मसान्तमा १५ अर्ब २७ करोड डलर थियो।
आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा भएको आयातको आधारमा, यो सञ्चितिले १६.७ महिनाको वस्तु आयात र १३.५ महिनासम्मको वस्तु तथा सेवा आयातको खर्च धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
साउनसम्मको यो विदेशी मुद्रा सञ्चिति नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ३६.७ प्रतिशत, कुल आयातको ११२.५ प्रतिशत र विस्तृत मुद्रा प्रदायको ३०.३ प्रतिशत रहेको छ।