९ असोज, सिरहा। सिरहाको औरही गाउँपालिकामा पारिवारिक विवादको क्रममा छोराको आक्रमणले ६५ वर्षीय भालेश्वर यादवको ज्यान गएको छ। खजनपुर टोलमा बस्दै आएका भालेश्वरलाई सोमबार साँझ उनका आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेका थिए।
घटना पछि गम्भीर अवस्थामा रहेका भालेश्वरलाई उपचारका लागि सिरहाको प्रादेशिक अस्पतालमा लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा राति ११:४० बजे बाटोमै उनको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी मुक्ति सापकोटाले यसबारे जानकारी दिएका छन्।
प्रहरीको टोलीले घटना लगत्तै आरोपी शैलेन्द्र यादवलाई नियन्त्रणमा लिएको छ भने मृतक भालेश्वरको शव मंगलबार पोष्टमार्टमपछि उनका अर्का छोरा रामप्रताप यादवलाई जिम्मा लगाइएको छ। शैलेन्द्र यादवमाथि कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान भइरहेको र सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।