भरतपुर महानगरले दिएको जानकारी अनुसार, लायन्स क्लबले १८८.९४ वर्गफिटमा बिना स्वीकृति भवन बनाएको थियो, जुन नक्सापास नगरिएको संरचना थियो। क्लबसँग तीन धुर मात्र जग्गा रहेको भए पनि भवनले सार्वजनिक जमिन मिचेको थियो।
महानगरले २०८० साल वैशाखमा नै पुङ्गी खोला करिडोरको नापजाँच गरी अतिक्रमण हटाउन सूचना जारी गरेको थियो। साउन १२ गते यसबारे सार्वजनिक सूचना पनि जारी गरिएको थियो, जसपछि निर्देशक समितिको बैठकमा अतिक्रमण हटाउने निर्णय गरिएको थियो।
पहिले सफा पानी बग्ने पुङ्गी खोला, समयसँगै अतिक्रमण र फोहोर व्यवस्थापनको अभावले साना नालाजस्ता देखिन थालेको थियो। वरपरका घरहरूबाट आउने फोहोर र तरकारी मण्डीको बचेखुचेले खोलाको स्वरुप बिग्रिएको हो।
मेयर दाहालले खोला पुनर्स्थापना र सौन्दर्यकरणको योजना सुरु गरेकी छिन्। पहिलो चरणमा सघन तथा भवन निर्माण आयोजना चितवनबाट ६ करोड ६५ लाख रुपैयाँको बजेट विनियोजन भएको छ। यो बजेटले पुङ्गी खोलाको दुबै किनारामा ३५५ मिटर लम्बाइको क्षेत्रमा सौन्दर्यकरण कार्य हुनेछ, जसमा वृक्षारोपण, फुटपाथ निर्माण, रिटेनिङ्ग वाल, र मोर्निङ र इभिनिङ वाक गर्न मिल्ने संरचना बनाइनेछ।
खोलाको किनारलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना पनि रहेको छ, जसअन्तर्गत चिया र खाजा स्टेसन, विश्रामस्थल, र खुला व्यायामशाला निर्माण गरिनेछ।