© २०२३
८ असोज, काठमाडौं। दक्षिणकाली नगरपालिकाले छैमले-कुलेखानी सडकखण्ड आज असोज ८ गतेदेखि १२ दिनका लागि बन्द गरेको छ। सडकको स्तरोन्नति कार्यको कारणले असोज ८ गतेदेखि असोज १९ गतेसम्म सवारी आवागमन रोकिएको हो।
दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले कालोपत्र गर्ने काम भइरहेको जानकारी गराउँदै छैमलेदेखि मकवानपुरतर्फको खण्ड पूरै बन्द गरिएको बताएका छन्।
नगरपालिकाले कालोपत्र काम सकिएसम्म सवारी चालक र यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न सुझाएको छ। यसका लागि सहजीकरणको अनुरोध गर्दै नगरपालिकाले काठमाडौं र मकवानपुरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार पनि गरेको छ।
यो सडक केन्द्रीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडालाई जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा रहेको छ। बागमती प्रदेश सडक गुरुयोजना अन्तर्गत निर्माण भइरहेको यस सडकलाई ‘प्रदेश लोकमार्ग’ नाम दिइएको छ।