विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पश्चिमी तराई क्षेत्रहरूमा मंगलबारदेखि मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। यी स्थानका केही क्षेत्रमा मध्यमदेखि भारी वर्षा समेत हुन सक्ने महाशाखाले बताएको छ।
असोज ९ गतेदेखि मनसुनी वायुको प्रभाव अझै बढ्ने र अधिकांश प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। यसका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ।
मौसम विज्ञान विभागले इलाम, पाँचथर, तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, गुल्मी लगायतका २७ जिल्लालाई उच्च जोखिममा राखेको छ। यी जिल्लाहरू वर्षाबाट बढी प्रभावित हुने देखिएकोले सतर्क रहन आग्रह गरिएको छ।
विभागले कृषि क्षेत्र, जनजीवन, सडक, हवाई यातायात तथा अन्य क्षेत्रहरूमा सम्भावित असरहरूलाई ध्यानमा राख्दै अद्यावधिक मौसमको जानकारी लिएर अगाडि बढ्न सुझाव दिएको छ।