© २०२३
८ असोज, विराटनगर। इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले कार्यपालिका बैठक नबोलाएको आरोप लगाउँदै उपप्रमुखसहितका जनप्रतिनिधिहरूले उच्च अदालत विराटनगरमा रिट दायर गरेका छन्।
सोमबार दर्ता भएको रिटमा उपप्रमुखसहित कार्यपालिकाका बहुमत सदस्यहरूले बैठकका लागि अदालतबाट परमादेश माग गरेका छन्। अदालतले यस मुद्दामा आज सुनुवाइ गर्नेछ।
प्रमुख पौडेल नेपाली कांग्रेसका हुन्, तर कार्यपालिकामा नेकपा एमालेका जनप्रतिनिधिहरू बहुमतमा रहेका छन्। उनीहरूका अनुसार प्रमुख पौडेलले बहुमतको अवज्ञा गर्दै एकलौटी रूपमा निर्णयहरू गर्दै आएका छन्। यसअघि पनि उनले नगरको बजेट एकलौटी रुपमा प्रस्तुत गरेको आरोप लगाइएको थियो, जसलाई पछि एमालेका शीर्ष नेताहरूको पहलमा पास गरिएको थियो।
एमालेका जनप्रतिनिधिहरूले बैठकको माग गर्दै ३० भदौसम्मको समयसीमा दिएका थिए, तर प्रमुख पौडेलले बैठक नबोलाएपछि उनीहरू अदालत गएका हुन्।
रिट दायर गर्ने प्रमुख जनप्रतिनिधिहरूमा उपप्रमुख संगीताकुमारी चौधरीसहित १६ जना वडाध्यक्ष र अन्य सदस्यहरू छन्, जसले कार्यपालिका बैठक तुरुन्त बोलाउन माग गरेका छन्।