७ असोज, काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ। प्रहरीको माग अनुसार उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न १० दिनको म्याद माग गरिएको हो।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा जोशीमाथि अनुसन्धान भइरहेको छ। प्रहरीको भनाइ अनुसार तीनवटा कसुरमा अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई हिरासतमा राख्न म्याद थपको निवेदन दर्ता गरिएको छ।
संसदीय छानबिन विशेष समितिको सिफारिसपछि जोशीमाथि प्रहरीले निगरानी बढाएको थियो। गृह मन्त्रालयको निर्देशनपछि उनलाई आइतबार प्रहरी प्रमुख वसन्तबहादुर कुँवरको टोलीले पक्राउ गरेको थियो।