७ असोज, काठमाडौं । युरोपेली चेन होटल ब्रान्ड लुभ्र होटल्स ग्रुपको लक्जरी ब्रान्ड ‘रोयल ट्युलिप’ले नेपालमा पहिलोपटक आफ्नो सेवा विस्तार गर्न लागेको छ। काठमाडौंको बूढानीलकण्ठमा निर्माण भइरहेको यो रिसोर्टको व्यवस्थापन सरोवर होटल्सले गर्ने छ।
दक्षिण एसियामा रोयल ट्युलिपको व्यवस्थापन गर्ने सरोवर होटल्सले नेपाललाई विश्व लक्जरी बजारमा ठुलो योगदान दिने बताएको छ। यो परियोजनाको नेतृत्व ग्लोबल इक्विटी फन्ड लिमिटेडका अध्यक्ष मुकुन्दराज कुँवर र निर्देशक आशिष ढकालले गरिरहेका छन्।
२६ रोपनीमा फैलिएको यस रिसोर्टमा ७५ कोठासहित आधुनिक सुविधा र नेपालको प्राकृतिक सौन्दर्यलाई एकीकृत गर्ने योजना छ। यहाँ ५ सय जनालाई सेवा दिने बैंक्वेट हल, विश्वस्तरीय स्पा, निजी ज्याकुजी, र वेलनेस सुविधाहरू उपलब्ध हुनेछन्।
कम्पनीका अनुसार यस रिसोर्टले स्वदेशी र विदेशी पाहुनालाई शान्त र अद्वितीय ‘होलिडे’ अनुभव दिलाउनेछ। रोयल ट्युलिपको प्रवेशले नेपालको लक्जरी बजारलाई थप उत्साह दिने सरोवर होटल्सका प्रबन्ध निर्देशक अजय बाकायाले बताए।
कम्पनीले मंगलबार नयाँदिल्लीमा औपचारिक हस्ताक्षर कार्यक्रम गर्ने योजना बनाएको छ, जसमा कुल १ अर्ब ८० करोड लगानी हुनेछ।