७ असोज, काठमाडौं । अमेरिकन डलर देखाएर ६४ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।
पक्राउ परेकाहरुमा सर्लाही बाग्मती नगरपालिका-१ का ३० वर्षीय लाल बहादुर घिसिङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-३ का २० वर्षीय सुन बहादुर तामाङ, र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ का २० वर्षीय भीमबहादुर तामाङ रहेका छन्।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जडिबुटीबाट पक्राउ गरेको हो। भक्तपुर चाँगुनारायणमा बस्ने एक व्यक्तिलाई अमेरिकन डलर देखाएर ४० लाख रुपैयाँको ठगी गरेको आरोपमा यो समूह फरार भएको थियो।
एसपी काजिकुमार आचार्यका अनुसार, यस समूहले काठमाडौंका विभिन्न स्थानमा पनि ठगी गरेका घटनाहरु खुलेका छन्। २ असोजमा धादिङका एक व्यक्तिलाई ७ लाख, ३१ भदौमा चितवनका एक व्यक्तिलाई ५ लाख, र २० साउनमा काठमाडौंका एक व्यक्तिलाई १० लाख ठगी गरेको पाइएको छ।
उनीहरूलाई थप कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको छ।