७ असोज, काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौं आइपुगेका छन्।
श्रीलंकन एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको श्रीलंकाको काठमाडौंस्थित दूतावास स्रोतले जानकारी दिएको छ।
व्यक्तिगत भ्रमणको क्रममा उनी लुम्बिनी जाने तयारीमा रहेको बुझिएको छ। यस भ्रमणका क्रममा उनले नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ। भ्रमणको व्यवस्थापन नेपालस्थित श्रीलंकन दूतावासले गरिरहेको छ।
यसैबीच, श्रीलंकामा आज मात्र अनुरा कुमारा दिसानायकेले राष्ट्रपति पदको शपथ लिएका छन्। दुई वर्षअघि भएको विशाल जनआन्दोलनपछि राजापाक्षे देश छाड्न बाध्य भएका थिए, यद्यपि पछि उनी श्रीलंकामा पुनः फर्किएका थिए।