७ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाको स्वागतमा नेपाली समुदायले आयोजना गर्न लागेको कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ।
आयोजक नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र स्थानीय नेपाली समुदायले आइतबार उक्त स्वागत तथा अन्तरक्रिया कार्यक्रम गर्ने योजना बनाएका थिए। मञ्च तयार गरिँदै प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको तस्वीर अंकित ब्यानरसहित कार्यक्रमको सम्पूर्ण तयारी पूरा गरिएको थियो।
तर सुरक्षा संवेदनशीलता र प्रधानमन्त्रीको साइडलाइन भेटवार्ताको व्यस्ततालाई कारण देखाउँदै कार्यक्रम स्थगित गरिएको महावाणिज्य दूतावासले जानकारी गराएको छ। जारी सूचनामा सुरक्षा संवेदनशीलताको बारेमा सम्बन्धित निकायको सुझावलाई ध्यानमा राखी कार्यक्रम स्थगित गरिएको उल्लेख गरिएको छ।
यसबीच, राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचानवादी संघ संगठनहरूले कार्यक्रमस्थलमै विरोध प्रदर्शन गर्ने योजना बनाएको सूचना प्राप्त भएपछि सुरक्षा संवेदनशीलता थप चनाखो भएको थियो। उनीहरूले सामाजिक सञ्जालमार्फत् कालो झण्डा देखाउने आह्वान गरेका थिए। स्थानीय सुरक्षाकर्मीहरूको सुझावपछि कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको बताइएको छ।