७ असोज, तनहुँ । तनहुँका विद्यालयहरूले अब विद्यार्थीहरूलाई शैक्षिक अध्ययनसँगै सीपमूलक तालिम दिन सुरु गरेका छन्। भानु नगरपालिकाको सामुदायिक विद्यालयहरूले विद्यार्थीलाई टपरी र चकटी बनाउने जस्ता परम्परागत सीपहरू प्रदान गर्दैछ।
भानु नगरपालिका-८ स्थित मनोहर माध्यमिक विद्यालयले पुरानो पुस्ताको सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विद्यार्थीलाई सालको पातबाट टपरी र दुना बनाउने सीप सिकाउँदै आएको छ, जसले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन सहयोग गर्छ। प्रधानाध्यापक हरिमा नेपालीका अनुसार यो तालिमले विद्यार्थीलाई जीवनमा आवश्यक सीप दिने लक्ष्य राखेको छ।
त्यस्तै, भानु नगरपालिका-६ सिम्पानीस्थित प्रभात आधारभूत विद्यालयले मकैको खोस्टाबाट चकटी बनाउने सीप सिकाउन थालेको छ। विद्यालयले हरेक शुक्रबार ‘पुस्तकरहित’ दिन कार्यक्रम सञ्चालन गर्दै सीपमूलक तालिमहरू प्रदान गर्दै आएको छ, जसमा कम्प्युटर मर्मत, चित्रकला, हाजिरीजवाफ, र विद्युतीय वायरिङसमेत समावेश छन्।
विद्यालयका प्रधानाध्यापक चिजकुमार सुर्खालीका अनुसार यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको सीप विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ। नगरपालिका शिक्षा शाखाका प्रमुख धु्रवराज पौडेलले बालबालिकाहरूलाई व्यावहारिक सीप सिकाएर जीवनोपयोगी बनाउनका लागि केही विद्यालयले अनुकरणीय प्रयास गरेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए।
त्यसैगरी, व्यास नगरपालिकाले दुई टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गरी उनीहरूको अध्ययन र बसोबासको सम्पूर्ण जिम्मेवारी लिएको छ।