नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गइरहे पनि १५ शय्यामा सीमित अस्पतालले सेवा दिन कठिनाइ भोगिरहेको छ। विसं २०७५ मा गण्डकी प्रदेश सरकारले यसलाई जिल्ला अस्पतालको रूपमा कायम गरे पनि शय्या संख्या र जनशक्ति अपर्याप्त रहेको अस्पताल प्रशासनले जनाएको छ।
हाल अस्पतालले ७८ शय्यामा सेवा दिइरहे पनि स्वीकृत दरबन्दी १५ शय्याको मात्र रहेको छ। यसले गर्दा जनशक्ति व्यवस्थापन र पूर्वाधारमा समस्या देखिएको छ। दैनिक रूपमा चार सयभन्दा बढी बिरामी आउने गरेको अस्पतालमा कर्मचारीको अभावले सेवा प्रवाहमा अवरोध भइरहेको छ।
अरुणखोलाका बिरामी गुणाखर गिरीले सामान्य जाँचका लागि पनि घण्टौं कुर्नुपर्ने गुनासो गरेका छन्। टिकट काट्नदेखि डाक्टरलाई देखाउन र रिपोर्ट पाउनसमेत धेरै समय लाग्ने उनले बताए। जनशक्ति अभावले सेवा प्रभावकारी बन्न नसकेको बिरामीको गुनासो छ।
अस्पताल प्रशासनले अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न पहल गरिरहेको भए पनि प्रदेश सरकारले यसलाई टुंगोमा पुर्याउन ढिलाइ गरेको छ। अस्पतालमा हाल १५५ जना कर्मचारी कार्यरत छन् भने स्वीकृत दरबन्दी केवल ३१ जनाको मात्र छ। कर्मचारी र पूर्वाधारको अभावले गर्दा सेवा प्रवाहमा कठिनाइ भइरहेको मेडिकल सुपरिटेन्डेन्ट रमेशप्रसाद आचार्यले जनाएका छन्।
अस्पतालको जग्गा सम्बन्धी समस्यासमेत समाधान हुन सकेको छैन। दश दशमलव ४९ हेक्टर जमिन उपभोग गर्दै आएको अस्पतालको स्वामित्वमा दुई दशमलव पाँच हेक्टरमात्र छ। बाँकी जमिनको भोगाधिकार प्राप्त गर्न प्रयास भए पनि सफल हुन नसकेको अस्पतालले जनाएको छ।