© २०२३
नेपाल पुलिस क्लबले माल्दिभ्समा आयोजना भएको काभा महिला क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रभावशाली प्रदर्शन गर्दै उपाधि जितेको छ। शनिबार सम्पन्न निर्णायक खेलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल पुलिसले पहिलोपटक यो च्याम्पियनसिपको उपाधि जितेको हो।
मालेको सोसियल युथ सेन्टरमा भएको फाइनलमा नेपाल पुलिसले हुमोलाई २५-१६, २५-२२ र २५-२३ ले पराजित गर्यो। प्रतियोगितामा ६ टिम सहभागी थिए, जसमा नेपाल पुलिसले अपराजित रहँदै उपाधि उचाल्न सफल भयो।
नेपाल पुलिसले लिग चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ५ मध्ये ५ खेल जितेको थियो। फाइनलमा प्रवेश गर्नुअघि पुलिसले उज्बेकिस्तानको हुमोसँगै श्रीलंकाको एयर फोर्स र ताजिकिस्तानको डाइमेड भलिबल क्लबलाई ३-० को सेटमा पराजित गरेको थियो। माल्दिभ्सका दुई टोलीहरूसँग भएको खेलमा पनि पुलिसले वाम्को क्लबलाई ३-२ र लिस क्लबलाई ३-१ ले पराजित गर्दै अपराजित यात्रालाई जारी राखेको थियो।
प्रतियोगितामा नेपाल, श्रीलंका, उज्बेकिस्तान, ताजिकिस्तान र माल्दिभ्सका टोलीहरूले भाग लिएका थिए। पुलिसको यो जीतले नेपाली भलिबलमा ठूलो सफलता ल्याएको छ।