© २०२३
काठमाडौं, ७ वैशाख । चीनले वामपन्थी दलहरुलाई एक बनाउन पहल गरेको छ । त्यसका लागि उसले नेपालमा आफ्ना अधिकारी पठाएर वा नेपालबाट वामपन्थी शक्तिलाई बोलाएर भएपनि दबाब बढाइरहेको छ ।
२०७४ को चुनाव अघि वामपन्थी एकता गराउन सफल चीन उनीहरुबीचको विभाजनपछि चिन्तित रहँदै आएको थियो । चीनले एकता जोगाउन निकै पहल गरेको थियो । चीनबाट उच्च अधिकारीहरु नेपाल आएर दबाब पनि दिएका थिए । तर, सफल हुन सकेनन् ।
अहिले चीनकै पहलमा माओवादी केन्द्र र नेकपा एमालेबीच सत्ता समिकरण बनेको खुल्दै गएको छ । चीनले दुवै दलबीच एकताको पहल गरिरहेको छ । यसका लागि चिनियाँ अधिकारी सक्रिय छन् ।
चीनले नेपालबाट वामपन्थी दलका नेतालाई भ्रमणमा डाकेर एकता गर्न दबाब दिदै आएको छ । चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ नेतृत्वको प्रतिनिधिमण्डललाई चीनको इन्टरनेशन डिपार्ट मेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी का प्रमुख लिउ चियानचाओले वामपन्थी एकीकरणमा जोड दिएका छन् ।
बिहिबार गुरुङ नेतृत्वको टोलीलाई बेइजिङमा भेट्दै वामपन्थी दलहरुको सरकार बन्दा चीन निकै खुशी भएको समेत स्पष्ट पारेका थिए । वामपन्थीको सरकार भएमा चीनलाई घेराबन्दी पार्न खोज्ने षड्यन्त्र विफल हुने समेत उनले बताएका थिए ।
चीन जाने टोलीमा पछिल्लो समय एमाले र माओवादीका नेताहरु नै बढी छन् । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमण केही महिनाको अन्तरालमा हुँदै आएको छ । श्रेष्ठ चीनका हितैषी मानिन्छन् । उनले बीआरआईको कार्यान्वयनमा समेत क्रियाशीलता देखाइआएका छन् ।