© २०२३
५ असोज, काठमाडौं। वीपी राजमार्गको शुरुवाती बिन्दु धुलिखेलमा नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको पूर्णकदको शालिक निर्माण गरिएको छ।
धुलिखेल नगरपालिका-६, जरणडाँडामा स्थापित यस शालिकको शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले अनावरण गरेका हुन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य तथा निर्माण मूल समितिका संयोजक जीतकृष्ण श्रेष्ठका अनुसार, ढलौटबाट निर्माण भएको शालिकमा १५ लाख रुपैयाँ खर्च भएको छ।
शालिकको शिलान्यास २०७१ सालमा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाले गरेका थिए।
वीपी कोइरालाले २०१६ सालमै वीपी राजमार्गको परिकल्पना गरेका थिए, तर यसलाई वास्तविकता दिन तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५२ सालमा जापान सरकारको सहयोगमा पुनः प्रारम्भ गरेका थिए। २०७२ सालमा यो ऐतिहासिक राजमार्गको निर्माण कार्य सम्पन्न भएको थियो।